आज २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस२०८२ को अवसरमा लुम्बिनीमा भव्य शोभा कलश यात्रा सम्पन्न गरिएको छ। लुम्बिनीस्थित ५ नम्बर गेटबाट सुरु भएको यात्रा मायादेवी मन्दिर, शान्ति दीप, केन्द्रीय नहर हुँदै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेर समापन भएको हो।
शोभा कलश यात्रामा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितको आकर्षक प्रस्तुति रहेको थियो, जसले बुद्ध जयन्तीको महत्वलाई झन् उजागर गरेको छ।
बौद्ध सम्मेलन केन्द्रमा आयोजना हुने औपचारिक कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम बिहान ९ बजेपछि सुरु हुने जनाइएको छ।
बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई आकर्षक रूपमा सजाइएको छ। तीन दिनसम्म विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। लुम्बिनी विकास कोषले विशेष सरसफाइ अभियान सञ्चालन गरेपछि क्षेत्र अझ स्वच्छ र सुन्दर देखिएको छ।
बुद्ध जयन्तीका यी कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लुम्बिनीको सांस्कृतिक र धार्मिक महत्त्व झल्काउने विश्वास गरिएको छ।

