प्रेसिडेन्ट बिजनेस ग्रुपद्वारा आयोजित दोस्रो पक्कु फेस्टिवल–२०८२ आज काठमाडौंमा भव्य समारोहसहित सुरु भएको छ। नवरात्रको पहिलो दिन बिहान ९:४५ बजे नौ कन्याद्वारा पानसमा बत्ती बाल्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा विशेष महत्वसहित नौ कन्यालाई भोजन गराई टीका लगाउने परम्परा पालना गरिएको थियो। यसरी कन्याहरूको हातबाट कार्यक्रम शुभारम्भ गर्नुको उद्देश्य नेपाली संस्कृति र देवीशक्तिप्रतिको आस्थासँगै मौलिक परम्परालाई नयाँ पुस्तामा प्रवाह गर्नु रहेको आयोजक संस्थाका अध्यक्ष टि.आर. भण्डारी (शंकर) ले बताए।
वि.सं. २०६३ सालमा सुन्धाराबाट सुरु भएको प्रेसिडेन्टको व्यवसायिक यात्राले हाल १९ वर्ष पूरा गरेको छ। यस यात्रामा समूहले होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट र प्रेसिडेन्ट बेकरीमार्फत मुलुकका १६ भन्दा बढी स्थानबाट सेवा विस्तार गरेको छ। वि.सं. २०६८ सालदेखि ‘प्रेसिडेन्ट बिजनेस ग्रुप’ नाममा ब्रान्डिङ गर्दै आएको यो समूहले विगत दुई दशकमा नेपाली आतिथ्य व्यवसायलाई नयाँ उचाइमा पुर्याएको छ।
गत वर्षको पहिलो पक्कु फेस्टिवल–२०८१ ले पाएको उल्लेखनीय सफलता र जनसहभागिताले यसपटक फेस्टिवललाई अझ भव्य र व्यवस्थित ढंगले दोस्रो पटक आयोजना गरिएको हो। महाराजगञ्जस्थित प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्टमा भइरहेको यस फेस्टिवलमा दशैंसँग सम्बन्धित विभिन्न आकर्षण प्रस्तुत गरिएका छन्। जसअन्तर्गत स्थानीय हस्तकला, परम्परागत बाजा, सांस्कृतिक झाँकी, मौलिक परिकार र विशेषगरी पक्कु (बंगुरको मासु) आधारित खानाको प्रदर्शनी रहनेछ।
आयोजकका अनुसार, फेस्टिवलको मुख्य उद्देश्य नयाँ पुस्तालाई आफ्नो संस्कृति, रहनसहन, खानपान र परम्परासँग नजिक ल्याउनु हो। साथै, शहरमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका, तर गाउँ र चाडपर्वको वातावरणबाट टाढिएका मानिसलाई दशैंको उल्लास र पर्वको अनुभव दिने प्रयास पनि यसमा गरिएको छ।
प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “यो फेस्टिवल केवल आर्थिक र व्यापारिक गतिविधिसम्म सीमित छैन। यसको मूल ध्येय मनोरञ्जनसँगै हाम्रो मौलिकता, परम्परा र संस्कृतिको जगेर्ना गर्नु हो।”
फेस्टिवल असोज महिनाभर विभिन्न सांस्कृतिक प्रस्तुति, स्वाद परीक्षण र मनोरञ्जनात्मक कार्यक्रममार्फत निरन्तर चल्ने जनाइएको छ।

