भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्विनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ। सरकारले विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराखेको दाबी गरेपनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालनमा अवरोधको कारण पत्ता लगाउने प्रयास गर्दै प्रश्न गरेको छ, “कुन अदृष्य शक्तिले लुम्विनी प्रदेशको समृद्धिको आधारको रुपमा स्थापित गौतमबुद्ध विमानस्थल सञ्चालन हुन रोकिरहेको छ?”
लुम्बिनी प्रदेश स्तरीय निजी क्षेत्रका संघसंस्थाहरुले सोमबार संयुक्त वक्तव्य जारी गर्दै सरकारसँग विमानस्थल सञ्चालनका लागि आवश्यक सहयोगको माग गरेका छन्। उनीहरुले भने, “सरकारले विमानस्थल सञ्चालनका लागि तदारुकता देखाएको भए पनि आवश्यक आधारभूत कार्यालयहरु भैरहवामा स्थापना गर्न नसकेको कुरा असन्तुष्टि जनाउँछ।”
विज्ञप्तिमा उल्लेख छ कि वैदेशिक रोजगारीमा जान चाहाने श्रमिकहरुका लागि म्यानपावर कम्पनीका कार्यालयहरु र श्रम तथा स्वास्थ्य परिक्षण कार्यालयहरुको स्थापनाका लागि पटक पटक अनुरोध गर्दा पनि सरकारले त्यसमा सुनुवाई नगरेको छ। यस कारण निजी क्षेत्र चिन्तित भएको र विमानस्थलको दूरावस्थाले यस क्षेत्रका व्यवसायीलाई निराश बनाएको भनिएको छ।
विमानस्थल निर्माणको समयमै सरकारको आब्हानमा उत्साहीत भएर यस क्षेत्रका पर्यटन व्यवसायीहरुले गरेको ५० अर्ब भन्दा बढीको लगानी जोखिममा रहेको भन्दै निजी क्षेत्रले चेतावनी दिएको छ। उनीहरुले भने, “विभिन्न बहानामा निराश बनाउने काम नगर्न र नियमित यात्रु पाउँदा पनि वायुसेवा कम्पनीहरुले उडान कटौती गरेमा त्यसको कारण सरकारले सक्दो पहल गर्नुपर्ने छ।”
यस वक्तव्यमा नेपाल चेम्वर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गणेशप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन्।

