पर्रोहा माविमा तीज गीत प्रतियोगिता तथा उत्कृष्ट शिक्षक सम्मान

अनिता चौधरी
२०८२ भाद्र ०६ गते
पर्रोहा माविमा तीज गीत प्रतियोगिता तथा उत्कृष्ट शिक्षक सम्मान

हरितालिका तीजको अवसरमा पर्रोहा माध्यमिक विद्यालयले तीज गीत प्रतियोगिता तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक विकृतिलाई अन्त्य गर्न छोरी शिक्षित बनाउ उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
विद्यालयमा शुक्रबार भएको तीज गीत प्रतियोगितामा दुई फरक समूहका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । कक्षा ४ देखि ६ सम्ममा समिक्षा बोहोराको समूह प्रथम, अनामिकाको समूह द्वितीय र रञ्जनाको समूह तृतीय भए ।
कक्षा ७ देखि १२ सम्ममा सुदिश्ना न्यौपानेको समूहले प्रथम स्थान हासिल ग¥यो भने सोनिया खड्काको समूह द्वितीय र प्रकृति शर्माको समूह तृतीय भए । विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका शिक्षकहरूलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ । एस.ई.ई. २०८१ मा शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा विद्यालयले शिक्षकहरूलाई नगद र सम्मानपत्रले सम्मान गरेको हो। यस वर्षको एस.ई.ई. परीक्षामा सहभागी १ सय ४१ विद्यार्थीमध्ये ९३ प्रतिशत अर्थात् १ सय ३१ विद्यार्थी उत्कृष्ट अंकसहित उत्तीर्ण भएका थिए। जसमध्ये, ८ जना विद्यार्थीले ए प्लस ल्याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्र प्रसाद शर्माले पर्रोहा माध्यमिक विद्यालयको प्रशंसा गर्दै यस विद्यालयबाट उत्पादित विद्यार्थीहरूले विभिन्न क्षेत्रमा ख्याति कमाएको बताए । उनले अहिलेको तीजमा परम्परागत मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
’पहिला–पहिला तीजलाई महिला दिदीबहिनीहरूले दुःख–पीडा साट्ने र माइतीमा रमाउने पर्वका रूपमा मनाउँथे,’ उनले भने, ’तर अहिले होटल र रेस्टुरेन्टमा मनाउने चलन बढेको छ ।’ उनले हुनेखाने र हुँदा खाने सबैले एकै किसिमले चाड मनाउनुपर्नेमा जोड दिँदै घरमा जे छ, त्यसैमा रमाएर परम्परागत र स्वस्थवर्धक खानेकुरा खाँदै पर्व मनाउन आग्रह गरे ।
विद्यालयका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक बल बहादुर के.सी., सह–प्रधानाध्यापक हरिप्रसाद भट्टराई, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू तथा शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक भावना पौडेल ज्ञवालीको सञ्चालन सम्पन्न भएको थियो ।
Share This Post

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?