नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा काठमाडौंमा आइतबार प्रदर्शन र र्याली निकालिएको छ। कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिका नाममा निकालिएको प्रदर्शनमा विभिन्न संघ/संगठन र सर्वसाधारणको सहभागिता रहेको थियो। बौद्ध भिक्षुहरूसमेतको सहभागिता रहेको र्यालीमा कुलमानलाई अपमानजनक ढंगले हटाइएको लगायतका नारा लगाइएको थियो।
सरकारले चैत ११ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। यस निर्णयसँगै कुलमान घिसिङलाई हटाइने र शाक्यलाई नियुक्त गर्ने निर्णय गरिएको हो। यसअघि, शेरबहादुर देउवा नेतृत्वको सरकारको समयमा कुलमानलाई २०७८ साल साउन २६ गते पुनः कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको थियो।कुलमान घिसिङको कार्यकालमा प्राधिकरणले लोडसेडिङ अन्त्य गर्दै, वर्षौंदेखि घाटामा रहेको संस्थालाई नाफामा परिणत गरेको श्रेय पाएको छ।

