अनेमसंघ (क्रान्तिकारी) रुपन्देहीद्वारा श्रमिक महिलालाई सम्मान

राधा बस्नेत (रिया)
२०८१ फाल्गुन २४ गते
अनेमसंघ (क्रान्तिकारी) रुपन्देहीद्वारा श्रमिक महिलालाई सम्मान

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुपन्देहीद्वारा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा श्रमिक महिलालाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य महिला श्रमिकहरूको योगदानको सम्मान गर्दै, अस्पताल सरसफाइ, महिला अधिकार, समानता र सामाजिक सुरक्षाका बारेमा जनचेतना फैलाउनु थियो। कार्यक्रम भीम अस्पताल, भैरहवा परिसरमा आयोजना गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हक्कि कुल्ला खाँले माओवादी संघर्षका कारण महिलाका हक र अधिकारमा भएका सुधारहरूको चर्चा गर्दै भने, “आज महिला श्रमिकहरूको हक र अधिकार सुनिश्चीत भएको छ, जसको कारण माओवादी आन्दोलनको बलिदान हो।”

केन्द्रीय सदस्य सोनिया यादवले समाज परिवर्तनका लागि श्रमिक महिलाहरूको भूमिका अझ सशक्त बनाउनु पर्ने आवश्यकता रहेको बताउँदै, श्रमिक कानूनको प्रभावकारी कार्यान्वयन र सामाजिक सुरक्षा योजनाहरू लागू गर्नेमा माओवादी केन्द्र प्रतिबद्ध रहेको बताइन्।

माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवाय सदस्य रिज्जु श्रेष्ठले महिला श्रमिकहरूले अझै पनि शोषण र विभेदको सामना गर्दै आएको र उनीहरूको पारिश्रमिक र कार्य वातावरणमा सुधार ल्याउनु जरुरी भएको बताएका थिए। उनले दीर्घकालीन सामाजिक सुरक्षा योजनाहरू र समान पारिश्रमिकका लागि सरकार र संस्थाहरूको पहल आवश्यक रहेको बताईन ।

कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) रुपन्देहीकी अध्यक्ष दिपिका शर्माले महिला श्रमिकहरूको योगदानलाई महत्त्वपूर्ण मान्दै भने, “महिला श्रमिकहरूको परिश्रम बिना समाज र अर्थतन्त्र अघि बढ्न सक्दैन। उनीहरूको मेहनत र संघर्षको कदर गर्दै समावेशी समाज निर्माण गर्न हामी सबैलाई मिलेर काम गर्न आवश्यक छ।” उनले महिला श्रमिकहरूको सम्मान र उनीहरूको अधिकारका लागि सबै पक्षको मिलेर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याइन्।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा भीम अस्पतालसहित बुटवल, देवदेह, सैनामैना र भैरहवाका चार स्थानका ४ महिला श्रमिकलाई सम्मान गरिएको थियो। सम्मानित महिलाहरूले नारी सशक्तीकरण र श्रमिक अधिकारका विषयमा आफ्नो विचार प्रस्तुत गर्दै समाजको समग्र विकासमा श्रमिक महिलाको योगदानको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनीहरूले समान श्रम र समान ज्यालाको विषयमा सबैलाई सचेत हुन जरुरी रहेको जोड दिएका थिए। अनेमसंघ (क्रान्तिकारी) रुपन्देहीले भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्दै महिला श्रमिकहरूको हक र अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ।

Share This Post

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?