बुटवल जुनियर जेसिस २०२५ कार्यकालका लागि आवाज भुसाल अध्यक्षमा निर्वाचित भएका छन्। आज एक विशेष कार्यक्रमबीच नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
जुनियर जेसिसका संस्थापक सदस्य तथा २०२५ कार्यकालका लागि आवाज भुसाल अध्यक्षतामा एन्जिल पन्थ सचिव, दर्शन चालिसे कोषाध्यक्ष चयन भएका छन् भने अन्य २४ जना नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गर्दै संस्थालाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा संस्थापक अध्यक्ष निशान भुसालले बुटवल जुनियर जेसिसको इतिहास, उद्देश्य र योगदानको चर्चा गर्दै नयाँ नेतृत्वले संस्थालाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। पूर्व अध्यक्ष तथा विशिष्ट अतिथिहरूले रुपन्देही जुनियर जेसिसले विगतमा गरेका योगदानहरूको चर्चा गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल जेसीसका अध्यक्ष मोहन न्यौपानेले जेसिस संस्था युवाहरूको नेतृत्व विकास गर्ने उत्कृष्ट मञ्च भएको बताउँदै संस्थाले सामाजिक उत्तरदायित्वका कार्यहरूमा अझ सक्रिय रहनुपर्नेमा जोड दिए। निर्माण व्यवसायी संघका अध्यक्ष मञ्जु भुसालले व्यवसायिक तथा सामाजिक नेतृत्व विकासमा जेसिस संस्थाले पुर्याएको योगदानको प्रशंसा गर्दै समुदायलाई फाइदा पुग्ने कार्यक्रम ल्याउनुपर्ने बताए। बुटवल लेडी जेसीसकी अध्यक्ष रूपा श्रेष्ठले महिला नेतृत्व, उद्यमशीलता र समाज परिवर्तनमा जेसिसको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।
नवनिर्वाचित अध्यक्ष भुसालले युवाहरूको सशक्त भूमिका बिना समाज परिवर्तन सम्भव नभएको भन्दै नेतृत्व विकास, उद्यमशीलता, सामाजिक सेवा तथा नवीन सोचको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले रुपन्देही जुनियर जेसिसलाई अझ सबल र प्रभावशाली संस्था बनाउँदै युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने लक्ष्य रहेको बताए। कार्यक्रम नव निर्वाचित कार्यसमितिले युवा सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका लागि जेसिसको महत्त्वपूर्ण योगदान रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

